Uncategorized

श्राद्ध र तर्पण विषयमा संका समाधान:

ओ३म्.. पौराणिक मतानुसार- मन्त्रभाग संहिता, ब्राह्मण, उपनिषद्, गृह्यसूत्र, स्मृति, इतिहास- महाभारतादि र पुराण आदि श्रेष्ठ मनुष्यले मानेका सम्पूर्ण पुस्तकहरुमा मरेका पितृहरुलाई श्रद्धाले पिण्डादि दिनु श्राद्ध हो, यस्तो वर्णन गरिएको छ। र यस्तै नै अनादिकालको परम्पराले सबैले श्राद्ध गर्दै आएका छन्। वेदमा पनि पितरहरुको आह्वान र पिण्ड राख्ने मन्त्र:- आयन्तु नः पितरः सोम्यासोऽग्निष्वात्ताः पथिभिर्देवयानैः। पितृभ्यः स्वधायिभ्यः […]

ओ३म्..

पौराणिक मतानुसार- मन्त्रभाग संहिता, ब्राह्मण, उपनिषद्, गृह्यसूत्र, स्मृति, इतिहास- महाभारतादि र पुराण आदि श्रेष्ठ मनुष्यले मानेका सम्पूर्ण पुस्तकहरुमा मरेका पितृहरुलाई श्रद्धाले पिण्डादि दिनु श्राद्ध हो, यस्तो वर्णन गरिएको छ। र यस्तै नै अनादिकालको परम्पराले सबैले श्राद्ध गर्दै आएका छन्। वेदमा पनि पितरहरुको आह्वान र पिण्ड राख्ने मन्त्र:-

आयन्तु नः पितरः सोम्यासोऽग्निष्वात्ताः पथिभिर्देवयानैः।

पितृभ्यः स्वधायिभ्यः स्वधा नमः।।

इत्यादि मन्त्रमा श्राद्धको वर्णन गरिएको छ। शतपथ ब्राह्मणमा पनि लेखिएको छ कि धोतीको गाँठो फुकाएर ६ पटक नमस्कार गर्नु र कुशमा पिण्ड राखेर हात धुनु। यस्तै प्रकार मनुस्मृतिमा पनि श्राद्धको पूरा विधान देखाइएको छ। गया श्राद्ध द्वारा पितृजनहरुको मुक्ति हुन्छ भन्ने कुरो सबै शास्त्रकारहरु मान्दछन्। नैत्यिक वा गया श्राद्धादि गरेर पितरहरुलाई तार्नको लागि नै पुत्रको आवश्यकता हुन्छ त्यसैले भनिएको पनि छ – ‘पुत्रहीन अर्थात् नीरवंशीलाई राम्रो हुँदैन। यस प्रकार मरेका पितरहरुको श्राद्ध सर्वसम्मत सिद्ध हुन्छ। जसले यसमा विश्वास गर्दैनन् ति सब नास्तिक हुन्। अथर्ववेदमा पनि स्पष्ट संग मरेका पितरहरुको तर्पण लेखिएको छ कि – ‘जो मृत, जीवित्, प्रकट भएका र यज्ञ सम्बन्धी पितर छन्,  ति सबको लागि मधुर जलधारा प्राप्त होस्।  इत्यादि प्रकारले मरेका पितरहरुको तर्पण-श्राद्ध वेदादि शास्त्रमा लेखिए अनुसार सबलाई माननीय सिद्ध हुन्छ।

     समाधान:- यसमा कुनै पनि सन्देह छैन कि जो वेद भन्दा भिन्न ब्राह्मणादि ऋषिप्रणीत पुस्तकहरुमा पनि जुन प्रकारले मरेका पितरहरुको श्राद्ध भेटिन्छ, त्यति मात्रले त्यो कर्त्तव्य-कर्म हुन सक्दैन, किनकि त्यो यस समयमा साध्यकोटि अन्तर्गत छ। अर्थात् आर्ष पुस्तकहरुमा पनि स्वार्थी तथा मतान्धहरुले अनेक स्वार्थ तथा लीलाका प्रसंग मिलाइदिएका छन् जसलाई सबै विचारशील एवं विवेकी मनुष्यले उट्पट्यांग वा असम्भव सम्झन्छन्। जुन कुराहरुलाई बालबुद्धिले पनि स्वीकार गर्दैन, जो सभ्यता विरुद्ध छ, वेद तथा सृष्टि नियम बिपरित छ, कर्मफल सिधान्त बिपरित छ। यस्तै अनेक शास्त्रीय प्रमाण र युक्ति तथा तर्क विरुद्ध हुनाले मृतक-श्राद्ध पनि आर्ष पुस्तकहरुमा मिलाइएको हो। र अनेक स्थलमा मृतक-श्राद्ध छैन, त्याहाँ पनि बुद्धि भ्रान्त हुनाले त्यस्तो देखिन्छ मात्र जसको मूल कारण अज्ञानता हो।

तिमीहरुको मान्यता अनुसार यदि मृतक-श्राद्ध अनादिकाल देखि चलेको हो भने सृष्टिको आरम्भमा उत्पन्न भएका ब्रह्मा आदिले कुन मृत पितरहरुको श्राद्ध गरे त? जब मरीच्यादि ऋषिहरु बाट अग्निष्वात्तादि पितृगणहरुको उत्पत्ति देखाइएको छ भने मरीचि आदिले पनि तर्पण र श्राद्ध गरेनन् त? यदि गरे भने के पितरहरुको स्थानमा आफ्ना पुत्रहरुको तर्पण र श्राद्ध गरे? किनकि जसलाई तिमीहरुले अनादि पितृगण मान्दछौ, ति मरीच्यादि ऋषिहरुबाट उत्पन्न भएका हुन्। त्यसभन्दा पहिले ति थिएनन्। यसकारण मृतक-श्राद्ध अनादिकाल देखि चलेको हो भन्ने सोंच गलत हो। यदि कसैले निर्मूल वृक्ष उभिन सक्दैन भन्छ भने यस न्याय अनुसार निर्मूल श्राद्ध कसरि चल्यो?

समाधान:- जब पूर्वोक्त प्रकारले ज्ञानी पुरुषहरुलाई अन्नादि उत्तम सामग्रीले सत्कार रूप श्राद्ध गर्नु हामीले सनातन सिद्ध गर्दछौं भने निर्मूल श्राद्ध भएन। किनकी ब्रह्मा र मरीचि आदि पनि यस्तो श्राद्ध गर्न सक्दथे अर्थात् उस समयमा पनि ब्रह्मादि देखि भिन्न अन्य ज्ञानीहरु विद्यमान थिए। यसकारण हाम्रो मतानुसार नित्य परम्परानुसार श्राद्ध गर्ने कुरो हुन सक्छ। मृतक श्राद्धको मूलमा जीवितको श्राद्ध छ, त्यसैले निर्मूल भन्न सकिदैन। दुवै पक्षमा श्राद्ध त कर्त्तव्य नै हो अर्थात् त्यसको कर्त्तव्य हुनुमा कुनै पनि विवाद छैन तर प्रकार र फलमा विवाद छ। त्यो के भने श्राद्ध कसरि र किन गर्नु पर्छ। पौराणिकहरुको पक्षमा मृतक श्राद्ध कर्त्तव्य हो। ’em पनि प्रत्यक्षमा त जीवितहरु कै सत्कार रूप श्राद्ध गर्दछन्। अर्थात्, मरेका पितृहरु आएर भोजन गरेको त कसैले देखेका छैनन् र यो कुरो कसैले मान्दैन पनि। केवल हठपूर्वक भनि रहनु नै विवादको जरो हो। र फलमा विवाद यसकारणले कि श्राद्ध गर्ने वाला फलको भागी हुन्छ तर मृत पितरहरुलाई फल पुग्दैन। यो सिद्धान्त पक्ष हो। कसैले भन्दछन् कि हैन, मृत पितरहरुलाई श्राद्धको फल पुग्छ। तर यो पक्ष यसकारणले पनि ठीक छैन कि सबै वैदिक विधि विधान र शास्त्रकारहरुको यहि मान्यता छ कि जसले जस्तो कर्म गर्दछ, त्यसलाई त्यसको अर्को जन्ममा त्यस्तै फल अवश्य प्राप्त हुन्छ। यदि कसैका माता-पिताले अधिकांश अधर्म गरे र शास्त्रको मर्यादा वा न्यायानुकूल उनलाई नरक रूप दुःख भोग प्राप्त हुनु पर्छ। तर उसका पुत्रले श्राद्ध गरेर राम्रो फल पुर्याइरहेका छन् भने के हुनु पर्ने ? यदि पूर्व कर्मानुसार उसलाई दुःख प्राप्त भएको हो भने श्राद्धको फल पुर्याउन बन्दैन र श्राद्धको फल पुगेर सुख प्राप्त भयो भने दुष्कर्मको नियत फल बताउने शास्त्रहरु नै व्यर्थ भए नि। जसका पहिले देखि नै शुभकर्म छन् त्यसको र दुष्कर्म गर्नेको बिचमा फरक नै के रह्यो र ? दुवै नै सुखभागी भए भने राम्रो कर्म वा धर्मको उद्योग गर्नु निष्फल भयो अर्थात् यी दुई कुरामा एक मात्र सिद्ध हुन सक्छ चाहे परलोक सहायार्थ धर्मको आवश्यकता मान चाहे श्राद्धलाई परलोकको सहायक मान। यस दशामा जसले पुत्र उत्पन्न गरे र उनलाई श्राद्धादि गर्ने ठीक-ठीक शिक्षा पनि दिए अब चाहे मरण पर्यन्त पापकर्म गरुन, पुत्रहरुले गयादि श्राद्ध गरेर जन्मान्तरमा त पार लगाउने नै छन्। फेरी यस्तो दशामा धर्म गर्न उपदेश दिने विद्वानहरु र सब धर्मशास्त्रहरु मिथ्या हुन्छन्। तर हाम्रा धर्मशास्त्रकारहरुले यसको विपरित स्पष्ट संग यो संदेश दिएका छन् कि – ‘परलोक अर्थात् जन्मान्तरमा सहायता गर्नको लागि पिता-माता र स्त्री-पुत्रादि उपस्थित् हुँदैनन् अर्थात् यहाँ तिम्रा जो सहायक माता-पिता, स्त्री-पुत्रादि प्रत्यक्ष छन्, ’em त्यहाँ साथमा जाँदैनन्, जस्तै यहाँ तिम्रो सुख-दुःखमा साथ् दिने साथीहरु पनि त्याहाँ जाँदैनन् र अन्य कुनै सहायता पनि पुर्याउन सक्दैनन् अर्थात् जसरि यहाँ तिमीलाई कुनै दुष्कर्मको फल स्वरूप विपत्ति आयो भने सबैले यथाशक्तिले सहायता गर्दछन्, त्यस्तै त्याहाँको कुनै विपत्ति या दुःखमा कसैले कुनै सहायता पुर्याउन सक्दैनन्। त्यसैले तिमि यिनको भर परेर कदापि पाप या दुष्कर्म नगर कि यिनले कुनै प्रकारको श्राद्धादि द्वारा कुनै सुख पुर्याउलान्। तिम्रो सहायक एक मात्र हुन्छ, त्यो हो धर्म, धर्मले नै तिम्रो सहायता गर्नेछ, जो तिमीले यहाँ उपार्जन गर्ने गर्दछौ।  यस कारण पिता-मातादिलाई पनि सुख पुर्याउनको लागि भनेर तिमि अधर्म नगर, आफ्नो परमार्थ सुधार्नको लागि यहाँ धर्मको उपार्जन गर। यस पूर्वोक्त कथनले स्पष्ट सिद्ध हुन्छ कि मानवधर्मशास्त्रको सिद्धान्तबाट पनि श्राद्धको फल मरेका पितृ सम्म पुग्न सक्दैन।

मृतक श्राद्धको परिपाटी किन चल्यो भन्ने कुराको अनुमान गर्दा यो बिचार गर्न सकिन्छ कि पहिले जब कसैको मृत्यु हुन्थ्यो तब उसका आफन्तहरु अहिले झैं शोकसमुद्रमा डुब्ने गर्दथे। यस्तो दशा देखेर उनका उपदेशक तथा गुरुहरु उपदेश द्वारा आफ्ना शिष्यहरुको शोक दूर गर्नको लागि स्वयं आउंथे या शिष्यहरुले बोलाए पछी आएर उनको शोक निवृत्तिको उपाय गर्दथे र उस समयमा शिष्यहरुले उनको सत्कार विशेषगरि यस कारणले गर्ने गर्दथे कि शोक-निवृत्ति हुनाले उनको अन्तःकरण उनि द्वारा प्रसन्न हुन्थ्यो। यो परम्परा केहि समय सम्म ठीक-ठीक संग चल्यो। पछी अविद्यामा फसेका मानिसहरुले यी ब्राह्मणहरुको सत्कार गर्नाले मृतकहरु तृप्त हुन्छन् भन्ने स्वयं नै कल्पना गरे। त्यसपछी नै मृतक-श्राद्धको सुरुवात भयो। अथवा ज्ञानीहरुको सत्कार, सेवन पनि पुण्य कर्म हो, उक्त पुण्य यदि शोकको समयमा गरियो भने शोक निवृत्ति हुनु सम्भव छ। यस कारणले शोकको समयमा पुण्य गर्नु पर्छ अथवा कोहि व्यक्ति मरे पछी उसका आफन्तहरु शोकले व्याकुल भएका कारणले धनादि पदार्थ देखि विरक्त हुन्छन्। त्यस समयमा धन तथा भोजनादिको दान उनीहरु बाट सुगमताका साथ भएको या गरिएको हुन सक्छ। किनकि शोक र उत्सव भन्दा भिन्न समयमा कुनै ठुलै उदार या दानवीर पुरुषले मात्र धनको व्यय गर्न सक्छ। नत्र कुनै कृपण वा साधारण मनुष्यको यत्रो साहस हुँदैन कि उसले प्रत्येक समयमा धन व्यय गर्न सकोस्। यस प्रकार अनेकौं दीर्घदर्शी विचारशील पूर्वजहरुले मृत्यु पश्चात् र पुत्रादिको उत्पत्तिरूप उत्सवको समयमा दान पुण्य र ज्ञानिहरुको सत्कार गर्ने उपदेश गरेका हुन्। जसबाट कृपणहरुले पनि लोकलज्जा वा दबाव आदि बाट भए पनि केहि धर्म अवश्य गर्न सकुन्। यसै अंशलाई केहि समय पछी अविद्याग्रस्त मूर्खहरुले आफ्नै कल्पनामा मृतकहरुको तृप्तिमा लगाए। मृत्यु पश्चात् गरिएको  दान-पुण्य र सज्जनहरुको सत्कारको फल मरेकाहरुलाई पुग्छ र त्यसको फल पुर्याउनको लागि नै मरणानन्तर गर्ने गरिन्छ। यस्तो मिथ्या कल्पना गरेर केहि समय पछी पिण्डादि बनाएर कुशमा राख्ने कल्पना पनि गरियो। र त्यो आफ्नो अनुभव वा अनुमानरूप पिण्डादि राख्ने परिपाटीलाई अनेकौं सद्ग्रन्थहरुमा पनि मिलाइयो जसबाट बराबर रुपमा अघि बढोस्। यस्तो अनुमानले प्रतीत हुन्छ। यस प्रकारले अन्यथा चलेको मृतक-श्राद्धको मूल सत्य सनातन श्राद्ध हो।

एउटा अर्को अनुमान पनि गर्न सकिन्छ कि जब कुनै कारणले विद्या हाशिल गर्न र ब्रह्मचर्य आश्रमको सेवन गर्न छुट्यो वा आलस्यादि अवगुणहरु अधिक बढे, तब अनेकौं उदरम्भर, स्वार्थी, धर्मध्वजी नाममात्रका ब्रह्मणहरुले विचार गरे होलान् कि अब हामी श्राद्धका योग्य (जस्तो कि मनुस्मृति आदि शास्त्रहरुमा लेखिएको छ) रहेनौं र हामीलाई श्राद्धमा कसैले बोलाउँदा पनि बोलाउँदैन र श्राद्ध पनि कसैले गर्दैन त्यसैले यहि युक्ति राम्रो होला कि यसमा मृतकको नाम जोडीदिनेहो भने मानिसहरुले अवश्य श्राद्ध गर्नेछन्। जहाँ यस्तो श्राद्ध हुनेछ, त्यहाँ अवश्य हामीलाई भोजन पनि गराउने छन्। कसैले पनि आफ्नो नामबाट भोजन वा दान-दक्षिणा आदिको माग गर्न सक्दैन, मागे भने पनि संकोच हुन्छ, तर अन्य कसैको नाम बाट माग्दा त्यस्तो संकोच हुँदैन, त्यसकारण मृतक पितरहरुलाई फल पुर्याउनको लागि भोजन, दान-पुण्य आदिको उपदेश चलाएका हुन सक्छन्; यो सम्भव छ। यदि यस्तो हो भने यो चलाउनेहरु नै विशेषगरि अधर्मी भए र यहि विचारानुसार चलेको भए अज्ञानता नै मूल कारण भयो।

यदि धेरै पहिले देखि वा ऋषि र आर्यराजाहरुको समय देखि नै कदाचित् मृतकको श्राद्ध चलीआएको भए र धेरै समयदेखि प्रवृत्त हुनाको कारणले यदि प्रामाणिक ठहर्छ भने के चोरी धेरै काल देखि चलीआएको छैन र? के चोरी आदि अधर्म बीचमै छुट्यो त? धेरै काल देखि चोरी आदि अधर्म पनि चलीआएको छ त के हामि पनि चोरी गरौँ? यसको अभिप्राय यो हैन कि श्राद्ध पनि चोरी तुल्य नीच कर्म हो, तर तात्पर्य यो हो कि मृतकहरुको उद्देश्य लिएर श्राद्ध गर्नु श्राद्धको मुख्य अभिप्राय पूर्ण हुँदैन। यसै बाट श्राद्ध विषयक वेदादिशास्त्रहरुको आज्ञा पालन भयो कि भएन भन्न सकिन्न। तथा केहि व्यर्थ पनि गर्नु पर्छ। र ( आयन्तु नः पितरः ..)  इत्यादि मन्त्रको अर्थ ज्ञानीहरुले पितृ मान्नमा नै निर्दोष र ठीक हुन्छ। तर मृतकलाई पितृ मान्नमा हैन। ‘सोम नाम शान्ति वा सहनशीलता राख्न योग्य तथा आहवनीयादि अग्नि ग्रहण गर्न योग्य अर्थात् ब्रह्मचर्यादि आश्रमहरुको धर्मपूर्वक वेदोक्त रीति बाट सेवन गर्नेहरु हाम्रा रक्षक पितरहरु श्रेष्ठ पुरुषहरुको चालमा आउन्।’ यस अर्थले मरेका पितरहरुको आह्वानको कहीं पनि संकेत छैन, र न कुनै यस्तो विशेषण छ जसमा मरेका पितृहरु नै सम्झन सकियोस्। उक्त सोम्यास आदि विशेषण मृतकमा कदापि घट्न पनि सक्दैन। कदाचित् अग्निष्वात्त पदको कसैले यो अर्थ गरोस् कि अग्निमा जलाइएका वा भस्म भएका। र कसैले यो पनि भन्न सक्छन कि अग्निष्वात्त शब्दको अर्थ तिम्रो नै ठीक छ वा अन्यथा भए पनि पितरहरुको श्राद्ध प्रकारणस्थ वेदमन्त्रमा – “ये अग्निदग्धा अनग्निदग्धा मध्ये दिवः स्वधया मादयन्ते” इत्यादि मन्त्र पनि आउँछन्, जसको निक्कै स्पष्ट हुनाले अर्थ बदल्न पनि सकिदैन, किनकि “दह भस्मीकरणे” धातुको रूप नै दग्ध हुन्छ अर्थात् ‘जो पितर अग्निबाट जलेका हुन् वा नजलेका हुन्, यस्ता पितरहरुलाई हविष्य खानको अर्थमा बोलाउँछु।’ अब यसको पनि उत्तर विचारगर्न योग्य छ कि अग्निबाट पितरहरु जल्नु कसरि हुन सक्छ? पितर नाम यदि शरीको हो भने त यो कुरो घट्न सक्छ कि अग्निबाट जलेका पितर, तर जुन शरीर अग्निमा जलाइयो, त्यो त्यसै समय भस्म भयो, अब उसलाई श्राद्धमा बोलाउनु वा उसको लागि श्राद्धको फल पुर्याउनु, दुवै कुरा असम्भव छन्। यदि पितर नाम जीवात्माको मान्नेहो भने जसलाई बोलाउन बन्छ तर त्यो अग्निले जलाइएन, किनकि शरीर जल्नु भन्दा पहिले नै त्यो निस्केर गैसक्यो र त्यो निस्केर गएपछि नै शरीरलाई जलाइयो। त्यसैले ति जीवात्माहरुका साथ अग्निदग्ध विशेषण लाग्न नै सक्दैन। यदि चेतन शरीरको नाम पितर हो भने चेतन शरीर पनि जलाइएन। यस प्रकार कुनै पनि रीतिले मृतक-श्राद्ध पक्षको अर्थ बन्दैन र यसै प्रकारले जीवात्मालाई कसैको पिता वा पुत्र पनि भन्न सकिदैन किनकि श्वेताश्वतरोपनिषद्मा स्पष्ट निषेध पनि गरिएको छ – ‘आत्मा कसैको पिता-पुत्रादि हैन, जब सम्म शरीरका साथ संयोग रहन्छ, तब सम्म मात्र पिता-पुत्रादि नामले चिनिन्छ।’ त्यसैले जीवात्माहरुलाई पछीबाट कसैको पितर भन्न पनि सकिदैन। तथा यस प्रकार “मृताः” यो पनि पितरहरुको विशेषण बन्दैन, किनकि मरण भन्नु नै प्राणवियोग हो, त्यो शरीरबाट भयो अर्थात् शरीरबाट प्राण निस्के पछी मरे। पितर शरीरलाई भन्न सकिन्छ, तर शरीर शीघ्र नै जलेर/गलेर माटोमा मिल्न जान्छ। फेरी त्यसलाई बोलाउन पनि सकिन्न।

अब यदि कसैले भन्छ कि ठिक छ, हाम्रो पक्षमा अग्निदग्ध आदि पदहरुको अर्थ बन्दैन, तिमीहरुले के अर्थ गर्छौ र आफ्नो पक्षमा कसरि घटाउँछौ त?

यसको उत्तर- ‘अग्नि द्वारा भुटेको, पकाएको वा स्वयं कालपक्व सामयिक फलादि दुवै प्रकारका पदार्थ ज्ञाननिष्ठ पितृहरुको भोजनार्थ उपस्थित गर्नु पर्छ।’ अर्थात् अग्निदग्ध आदि पद भोग्य वस्तुहरुको विशेषण हो। यदि त्याहाँ पितृ शब्द पनि छ भने वेदको यौगिकार्थ हुनाले रक्षक पदार्थहरुको विशेषण मानिन्छ। इत्यादि प्रकारले सब अर्थ ठीक छ, केवल बुद्धिमा थोरै बल दिनु पर्छ। यी सब कथनले सिद्ध भयो कि (आयन्तु नः..)  यस मन्त्रमा पितृ शब्दले जीवित ज्ञानी पितरहरुको ग्रहण हुन्छ। द्वितीय पिण्ड राख्ने मन्त्र भनियो, त्यो पनि ठीक हैन किनकि उसमा पिण्ड वा राख्ने कुनै पनि संकेत छैन। र शतपथ ब्राह्मणको प्रमाण दिइयो त्यसमा पनि मृतकको नाम नहुनाले त्यस्तो अर्थ आउँदैन र कदाचित् मृतक-श्राद्ध गर्ने उपदेश शतपथादिमा कुनै अभिप्रायले निस्कियो भने पनि सिद्धान्त पक्षमा कुनै दोष आउँदैन। किनकि जब वेदको सिद्धान्त नै छैन भने वेद विरुद्ध र प्रमादादि दोषयुक्त लेख त्यसमा पनि हुन सक्छ। र मनुस्मृतिको तृतीयादि अध्यायमा अनेकौं श्लोकहरु मृतक-श्राद्धको लागि छन्, यो कुरो हामीलाई पनि स्वीकार छ तयार ति श्लोकहरु त्याहाँ लेखिएको भेटिनुले मात्र त्यस्तो श्राद्ध कर्त्तव्य सिद्ध हुँदैन। यदि त्यस्तो हो भने त चोरी वा परस्त्रीगमन पनि अनेकौं स्थलमा कुनै विशेष प्रयोजनको लागि वा निषेधका लागि लेखिएको छ, के चोरी आदि कर्त्तव्य होला? प्रयोजन यो हो लेखिदिनाले मात्र कुनै कार्यको कर्त्तव्य वा अकर्त्तव्य हुनु सिद्ध हुन सक्दैन, तर जसको विधानको रीतिले अर्थवाद सहित लेखिएको छ, त्यहि कर्त्तव्य हो।

 र गया-श्राद्ध त अर्काको पदार्थ हरण गर्न त्याहाँका धूर्त्तहरुले आफ्नो प्रयोजन सिद्ध गर्नको लागि कल्पित गरेका हुन्; यस्तै अनुमान हुन्छ। यदि कुनै विद्वान्ले यसलाई ध्यान दिएर विचार गर्यो भने सिद्ध हुनेछ कि गया-श्राद्ध हुनाले पौराणिक मतमा श्राद्ध नित्यकर्म ठहर्न सक्दैन, किनकि गया-श्राद्ध गरे पश्चात् पितरहरुको मुक्ति हुन्छ वा ति यस्तो दशामा पुग्छन् कि पुत्रहरुको लागि श्राद्धफल भोगको इच्छा शेष रहदैन। गया-श्राद्ध गरे पछी कसैलाई श्राद्ध गर्नु पर्दैन र सबैले माता-पिताको मृत्यु पश्चात् एक दुई वर्षमा गया-श्राद्ध गर्दछन्। पछी श्राद्ध गर्नु निष्फल वा निष्प्रयोजन छ। किनकि भरिएकोलाई भर्नु व्यर्थ छ। यस प्रकारले “सबले नित्य श्राद्ध गर्नु पर्छ” इत्यादि प्रकारका धर्मशास्त्रका आज्ञा पनि सिद्ध हुन सक्दैनन्, किनकि श्राद्ध सदा हुन सक्दैन। यो दोष जीवितहरुको श्राद्ध मान्नेहरुको पक्षमा आउन सक्दैन। किनकि उनिहरु आफ्नो कल्याणको लागि नित्य श्राद्ध गर्दछन् । जस्तो कि अग्निहोत्रादि गर्दछन् वा गर्नु पर्छ त्यस्तै श्राद्ध पनि नित्य कर्त्तव्य बन्छ। र गया-श्राद्धले यदि पितरहरुको मोक्ष हुन्छ भने ‘परमेश्वरको ज्ञान भन्दा भिन्न मोक्षको अन्य मार्ग छैन’ भन्ने यस वेद मन्त्रको विरुद्ध छ, अर्थात् ज्ञान बिना मोक्ष हुन असम्भव छ। र यिनीहरुको यो भनाइ पनि ठीक छैन कि मृतक-श्राद्ध गर्नको लागि सब शास्त्रहरुको सिद्धान्त छ। तर मतवादले भरीपूर्ण पुराणहरुको मत हो यो।

 तथा पुत्र बिना गति हुँदैन, यो पनि परिछिन्न वा एकांकी वाक्य हो। अर्थात्, सर्वसम्मत हैन। किनकि जब स्पष्ट लेखिएको छ  कि – ‘ब्रह्मचर्य आश्रमबाट, घरबाट वा वनबाट जब पूर्ण पक्का वैराग्य आउँछ, तब मात्र मनुष्य विरक्त बन्नु।’ इत्यादि ब्राह्मण र उपनिषद्का वचनको आज्ञानुसार ब्रह्मचर्याश्रम बाट संन्यास ग्रहण परमार्थसिद्धि वा मोक्ष प्राप्तिको लागि हो, त्यो संन्यास मिथ्याभावमा परिणत हुनेछ। किनकि ब्रह्मचर्याश्रमबाट नै जसले संन्यास धारण गर्छ, त्यसले सन्तान उत्पन्न गर्दैन। र संन्यास आश्रमको प्रयोजन यही हो कि जसबाट परमार्थमा उत्तम गति होस्। यदि बिना पुत्र संन्यास धारण गर्छ भने त्यसको सुगति त भएन। “ब्रह्मचर्याश्रमबाट नै विरक्त हुनु” इत्यादि प्रकारका शास्त्र वचन व्यर्थ नै हुने भए। र महर्षि मनुले पनि बिना पुत्र नै सुगति हुने स्पष्ट  भनेका छन्- ‘जसले कुल सन्तति अर्थात् पुत्रादि उत्पन्न गरेका छैनन्, यस्ता हजारौं कुमार तपस्वी ब्राह्मणहरुले प्रकाशमय परमेश्वरलाई प्राप्त गरे अर्थात् मुक्त भए।’ यस्तै प्रकार आजन्म ब्रह्मचारी, सन्तति रहित भीष्म (देवव्रत) आदि महात्माहरुको सुगति हुनु इतिहासादिमा प्रसिद्ध नै छ। यस कारण बिना पुत्र गति हुन सक्दैन भन्ने यस वाक्यको अरु नै प्रयोजन छ। जन्मान्तरमा सुख दिने अभिप्राय यो हैन कि पुत्र भएकाले मात्र जन्मान्तरमा सुख भोग गरुन् र निर्वंशी दुःखमा नै परिरहुन्।

 अब एक विचार यो पनि छ कि हाम्रा जो माता-पितादि मरेर गए, उनका यदि योगाभ्यास र ईश्वरको  उपासनादि शुभकर्म संचित छन्, जसलाई उनीहरुले आफ्नो वर्तमान समयमा संचित गरेका हुन् भने शुभकर्महरुको फलबाट पितरहरुको सुगति अवश्य हुनेछ। यहि कुरो भगवद्गीताको दोस्रो र छैठौं अध्यायमा पनि भनिएको छ कि – “हे अर्जुन ! उत्तम धर्मयुक्त कर्म गर्ने वाला कुनै पनि पुरुष दुर्गति प्राप्त हुँदैन। र थोरै पनि धर्म संचय गरेकोछ भने ठूलो र प्रबल दुःख बाट बचाउँछ।”  यसबाट सिद्ध हुन्छ कि यस जन्ममा परिश्रम पूर्वक उपार्जन गरिएको धर्मले नै जन्मान्तरमा सुख दिन्छ। यस प्रकारका धर्मात्मा भए भने हाम्रा माता-पितादि आफ्ना कर्मले नै मुक्त हुने छन्, उनको लागि श्राद्धको फल पुग्ने कल्पना गर्नु नै व्यर्थ छ। कदाचित् कुनै मनुष्यलाई धर्म गर्दा गर्दै पनि दुर्गति प्राप्त भयो भने जसको आफ्नै कर्मले सुख पाइएन, त्यसलाई पुत्रादि द्वारा गरिएको श्राद्धले के सुख पाउला? र जसरि धर्मात्मालाई दुर्गति प्राप्त हुन्छ, त्यसैगरि पापीलाई पनि सुगति प्राप्त हुन सक्छ। यद्यपि यो असम्भव छ कि धार्मिक दुःखी र अधर्मी सुखी होस्, तथापि यसको अभिप्राय यो ठीक होला कि जसको पूर्व संचित पाप अधिक छन्, र वर्तमानको धर्म-सेवन ति पाप भन्दा अधिक प्रबल हुँदैनन् । अतः तब सम्म धर्म गर्दा गर्दै पनि उसले दुःख अवश्य भोग्छ र जसको पूर्व संचित धर्म अधिक छ, त्यसले वर्तमानमा पाप कर्म गर्दा पनि तब सम्म सुख भोग्छ, जब सम्म उसको पूर्व धर्मलाई दबाउने प्रबल पाप नबढोस्। यस प्रकार धर्मको फल दुःख र अधर्मको सुख कदापि ठहर्न सक्दैन। कदाचित् कहीं उल्टो फल हुन्छ भन्ने जस्तो देखियो भने त्यो धर्म-अधर्मको लक्षण सम्झनमा भूल मान्नु पर्छ अर्थात् जसको परिणाम सुख होस् त्यो  धर्म र जसको परिणाम वा फल दुःख होस्, त्यहि अधर्म हो। किनकि अनेकौं मानिसहरुले धर्माभासलाई पनि धर्म मानेरे उसको दुःख फललाई धर्मको परिणाम मान्न लाग्छन्; यो उनको गम्भीर दोष हो। यस प्रकार मृतकलाई फल पुर्याउनको लागि श्राद्ध गर्नु निष्फल छ । किनकि जस्तो नियतविपाक संचित धर्मको फल अवश्य नै प्राप्त हुन्छ। जसरि मृत धर्मात्मा माता-पिताको श्राद्ध गर्नु निष्फल छ त्यस्तै निश्चित फल दिने अधर्मको पनि दुःख फल अवश्य प्राप्त हुन्छ । त्यसैले अधर्मी माता-पिताको पनि श्राद्ध गर्नु निष्फल छ। यसकारणले मरेकाहरुको निम्ति श्राद्ध गर्नु हुँदैन तर जीवित ज्ञाननिष्ठ पितरहरुको श्राद्ध अवश्य गर्नु पर्छ।

निर्वंशी पुरुषको सुगति हुँदैन भन्नुको तात्पर्य के हो भने संसारी अर्थात् गृहाश्रम सेवन गर्ने मनुष्यहरुले पुत्रादि उत्पन्न अवश्य गर्नु पर्छ । यस्तो आज्ञा पनि शास्त्रहरुमा छ। यस आज्ञाको मुख्यगरि दुई प्रयोजन छन्। एक- स्वार्थ र द्वितीय परमार्थ। यसमा स्वार्थ त लोकमा पनि प्रसिद्ध छ, जस्तै – संसारी मनुष्यहरुले भन्ने गर्दछन् कि कुनै सपूत उत्पन्न भो भने त बुढेस कालमा सुख हुन्थ्यो। अर्थात् भोजन-वस्त्रादिले हामीलाई तृप्त गर्ने थियो। र कपूत बाट माता-पितादिको रक्षा हुनु त के उनको नाम कलंकित गर्छन् र ताडनादि द्वारा  दुःख पनि पुर्याउछन्। यसै विचारानुसार पञ्चतन्त्रादि नीतिशास्त्रमा लेखिएको छ – “पुत्र उत्पन्न भएनन् वा भएर पनि मरे  अथवा अज्ञानी-मूर्ख भए भने यी तीनै दशामा प्रथम दुई दशा राम्रो हो, अर्थात् अज्ञानी-मूर्ख पुत्रको अपेक्षा ऊ नहुनु वा भएर पनि मर्नु नै उत्तम हुन्छ। किनकि ति दुईको स्मरण आउँदा दुःख त अवश्य हुन्छ तर अज्ञानी-मूर्खले पल-पलमा दुःख दिन्छ। एक सय अज्ञानी-मूर्खहरुको अपेक्षा एउटा मात्र गुणी पुत्र उत्तम हुन्छ। जस्तै एउटा मात्र सुगन्धित पुष्पयुक्त वृक्षबाट पूरै वाटिका शुशोभित वा सुगन्धित भएको हुन्छ । त्यस्तैगरि केवल एउटा मात्र पुत्रले पनि कुलको शोभा वा इज्जत र सुख प्राप्त हुन्छ”। इत्यादि नीति वाक्यहरुको अभिप्राय यहि हो कि जो कुलको दीपक एउटा मात्र सुपुत्रले पूरै कुललाई सुखी गर्दछ, त्यहि पुत्रका कारण उक्त कुलको ख्याति वा प्रतिष्ठा जगत् भरि हुन्छ। त्यस्तो पुत्र उत्पन्न गर्नको लागि सबै गृहस्थहरुले प्रयत्न गर्नु पर्छ। जस्तो सुख सुपुत्र कुल वा माता-पितादिलाई प्राप्त हुन्छ, त्यस्तो पुत्रहीनलाई कदापि प्राप्त हुँदैन। त्यसैले महाभारत उद्योगपर्वमा भालिएको छ कि – ‘आज्ञाकारी पुत्र हुनु पनि संसारी मनुष्यको लागि एक ठूलो सुख हो।’ वृद्धावस्थामा प्रायः मनुष्यहरुको शक्ति पनि क्षीण हुन्छ अर्थात्, शरीर शक्तिहीन र जीर्ण हुनुलाई नै वृद्धावस्था भनिन्छ। उक्त समयमा अशक्त वृद्ध पुरुषहरुले स्वयं आफ्नो शरीरको पनि सबै काम चलाउन सक्दैनन् भने धनादि उपार्जन गर्नु वा भोजनादि बनाउनु त झनै कठिन हुन्छ। त्यस्तै अत्यन्त सामर्थ्यहीन हुने समयमा पूर्व संचित धनादि पदार्थ पनि यदि निकट छैनन् भने सुपुत्रले आफ्नो परिश्रम द्वारा धनादि उपार्जन गरेर र भोजनादि दिएर हरेक प्रकारको सेवा गर्दै माता-पितादिको रक्षा गर्नु। जुन वृद्धहरु संग पूर्व संचित धनादि पदार्थ छन्, ’emलाई पनि भृत्यहरु बाट त्यस्तो सुख प्राप्त हुँदैन जस्तो घृणादि त्याग गरेर आफ्ना पुत्रले सुख दिन सक्छन्। जसका पुत्र छैनन्, उनलाई वृद्धावस्थामा मर्ने बेला प्रायः राम्रो रीतिले सुख प्राप्त हुँदैन। र जसले केहि धनादि ऐश्वर्य आफ्नो जीवनमा जोड्छन्, तिनलाई पनि रक्षा गर्ने र कुलको परम्परा चलाउनको लागि पुत्रको आवश्यकता हुन्छ। किनकि अन्य कसैको धनले कसैलाई उसको अभीष्ट कार्य गर्दैन। तर सुपुत्र माता-पिता द्वारा उपार्जन गरिएको धनले माता-पिताको अभीष्ट कार्य नै प्रायः सिद्ध हुन्छ। अर्थात् कहीं-कहीं माता-पिताका शत्रु संग पुत्रले बदला पनि लिन सक्छ। यस प्रकारले पुत्रको उत्पत्ति मुख्यगरि सज्जन पुरुष संसारी स्वार्थ अर्थात् आफ्नो लागि धन प्रतिष्ठा वा सुख पाउनको लागि वा ति माता-पितादिको नाम चलाउनको लागि आवश्यक मान्दछन्।

 र परार्थ यहि हो कि – परमेश्वरले धर्मको रक्षा र व्यवस्था गर्न वा मर्यादा र नियम पालन गर्नको लागी मनुष्यलाई बनाएको हो। त्यसैले नीतिकारहरुले भनेकाछन् – ‘भोजन गर्नु, सयन गर्नु, भय तथा मैथुन यी सब कर्म पशु र मनुष्यहरुमा समान छन्। तर मनुष्यहरुमा एउटा कर्म अधिक छ, त्यो हो धर्म। त्यसैले जुन मनुष्यले धर्म गर्दैन, ऊ पशु समान हो।’ त्यसकारण धर्माचरण गर्ने मनुष्यले युवावस्थामा नै मरण पूर्व आफ्नो प्रतिनिधि पुत्र उत्पन्न गरोस्। परमेश्वरको सृष्टिमा ऊ स्वयंले जुन धर्मको सेवन गर्दथ्यो वा गर्दछ, अर्थात् आफ्नो घरबाट जस-जसलाई जस्तो-जस्तो उपकार गर्न प्रारम्भ गरेको छ वा जो-जो धर्मसम्बन्धी दानादि कर्म कुलको मर्यादा एवं परम्पराबाट नियत चलीआएका हुन्, ति कर्महरु पिताले पनि जस्तो सेवन गरेको हो त्यस्तै गर्नको लागि पुत्रलाई शिक्षा प्रदान गरोस्। जसबाट वृद्ध माता-पिता मरेर गए पनि उपकार सम्बन्धी कार्य त्यस्तैगरि निर्विघ्न चलिरहोस्।

     गृहस्थ पुरुष मैथुन मात्र गर्छ तर कुनै पुत्र छैनन् भने शोचनीय दशा बन्छ। यस प्रकार नीतिको उपदेशबाट सूचित हुन्छ कि स्त्री सम्बन्ध रूप गृहाश्रमको पुत्रोत्पत्ति फल हो। यदि गृहस्थले केवल मैथुन मात्र गर्छ र पुत्रोत्पत्तिको रीति गर्दैन भने उसको वैवाहिक जीवन निरस र निरर्थक हुन्छ। परमेश्वरले जगत्को स्थितिबाट धर्म बढाउनको लागि यो संसार रचेको हो। यदि पुत्र उत्पत्तिको उपाय गरिएन भने वृद्धहरु मर्दै जाने र नवीन सन्तानहरु उत्पन्न नहुनाले कुनै समय सबैको अभाव हुनु निश्चित छ। र यस्तो हुनु भनेको परमेश्वरको इच्छा विरुद्ध छ। त्यसैले परमेश्वरको अभिप्राय यहि हो कि मनुष्यले सन्तानोत्पत्ति गर्नु पर्छ। जसले यस्तो गर्दैन ऊ परमात्माको आज्ञा भंग गर्ने वाला हुन्छ र उसको सुगति पनि हुन सक्दैन। सामान्य प्रकारले यहि सिद्ध हुन्छ कि पुत्र बिना गति हुन सक्दैन। तर कुनै विशेष दशामा जसले ब्रह्मचर्याश्रमबाट नै बाल ब्रह्मचारी भएर विरक्त हुन्छन्, र गृहाश्रम पनि गर्दैनन्। ’em पुत्र उत्पन्न गरेर आफ्नो त्यति उपकार गर्न सक्दैनन् जति जन्मभर ब्रह्मचर्याश्रमका साथ रहनेहरुले गर्न सक्छन्। यस कारण ति कुमारब्रह्मचारी निर्वंशीको दोषले दूषित हुँदैनन्। र वृद्धावस्थामा गृहस्थ तुल्य क्षीण नहुनाले शिथिल पनि हुँदैनन् कि जसलाई पुत्र बिना दुःख भोग्न परोस्। युवावस्थामा ति विरक्त धर्मोपदेशादि द्वारा धेरैलाई ठूला ठूला उपकार गर्दछन् र त्यसैको प्रत्युपकार स्वरूप शिक्षित शिष्यहरुले वृद्धावस्थामा तिनको निरन्तर सेवा गरेर सन्तुष्ट र सुख पुर्याउछन्। यस प्रकारले विद्या र धर्म सम्बन्धी उनका अनेकौं शिष्य पुत्रवत् नै हुन्छन्।

      अब श्राद्धमा पिण्डदान किन चल्यो भन्ने ’boutमा थोरै विचार राखौं: –

‘चार पिण्ड प्रातःकाल र चार सायंकाल नियम पूर्वक दिनमा आठ पिण्ड खानुलाई शिशु चान्द्रायण भनिन्छ।’  यस मनुस्मृतिको श्लोकमा नै पिण्ड शब्द ग्रासको पर्यायवाची मानिएको छ। पिण्ड शब्दको यथासम्भव अन्य अर्थ पनि हुन सक्छन्। तर पनि श्राद्धमा ग्रासको पर्यायवाची लिनु उपयोगी छ। र चान्द्रायणादि व्रतमा ग्रासको लक्षण लड्डू कै आकारको छ। यस प्रकार लड्डू समान बनेका सबै गोला-डल्ला मिठाईलाई पिण्ड भनिन्छ। खीर आदि सर्वोत्तम स्वादिष्ट वस्तुबाट बनाएको पिण्ड ज्ञानी पितृजनहरुको भोजन योग्य वस्तुमा सर्वोत्तम हुनाले अति नै उपयोगी हुन्थे भन्ने अनुमान गर्न सकिन्छ। पछी जब कसैको अज्ञानताबस् मृतक-श्राद्ध गर्ने चलन चल्यो तब देखि नै पिण्डको पनि यस्तो दुर्दशा हुन थाल्यो कि जो यति बेला राम्रो संग नपिसेको भुस सहित आधा काँचो प्रायःजौको मात्र जसो-तसो दिने गरिन्छ। जसरि कुनै घोडा, गधा, गोरु आदि पशुहरुलाई दाना दिने गरिन्छ, त्यस्तै यी पिण्डहरुको पनि दुर्दशा छ। ‘पितृहरुलाई पिण्ड दिनु पर्छ’ भन्ने यस प्रकारको पुराना पुस्तकहरुमा श्राद्ध प्रकरणमा जहाँ-जहाँ लेखिएको छ, त्यसको आशय यहि हो कि लड्डू तथा गोलरूपका मिठाईआदि भोजनको बेलामा पितृहरुलाई दिनु पर्छ। यो प्रकरण पछीबाट अविद्याले ग्रसित भएकाहरुले मुख्य अभिप्राय नबुझेर मृतकको लागि पिण्ड दिने कल्पना गरेको अनुमान हुन्छ। यो यस्तो मृतकलाई पिण्ड दिने कल्पना गर्नु ठीक हैन।

अथर्ववेदमा पनि तर्पणको विधान छैन। अर्थात् कसैले उस (ये जीवा०) मन्त्रमा मृत पद देखेर मृतकको तर्पण निकाल्छन्, तिनले “जीवाः” पद देखेर जीवितहरुको पनि तर्पण निकाल्नु पर्ने। यदि कसैले जीवा पद मृत शब्दको विशेषण हो भन्छ भने उसको मतमा समुच्चय अर्थको लागि पढेको ‘चकार’ निरर्थक हुन्छ अर्थात् समुच्चयार्थ पढ्नु ‘चकार’ बाट स्पष्ट प्रतीत हुन्छ कि मृता र जीवा भिन्न-भिन्न पद हुन्। र सर्वनामवाची यत् शब्दको चार प्रयोग मन्त्रको पूर्वार्द्धमा नै पढिएको छ। यसबाट पनि सबको पृथक् हुनु सूचित हुन्छ। कसैको कथनमात्र हो, तर उक्त अथर्ववेदको मन्त्रको अर्थ मृतक पितरहरुको तर्पण पक्षमा यथावत् कसैले मान्न सक्दैन। यस कारण यस मन्त्रबाट मृतकको तर्पण भन्ने पनि हुन सक्दैन, तर संसारको उपकार गर्ने एक प्रकारको विद्या यसबाट निस्कन्छ। जसको संक्षेपले व्याख्यान निम्न लिखित प्रकार दिन सकिन्छ:-

ये च जीवा ये च मृता ये जाता ये च यज्ञियाः।

तेभ्यो घृतस्य कुल्यैतु मधुधारा व्युन्दती।। (अथर्व वेद;१८,४.५७)

पदार्थ– ये जीवाः= जो कुनै प्रकारले कष्टका साथ अन्न-जलादि पाएर प्राण धारण गर्छन्, च:= र ये मृताः= जो अन्न-जलादि नपाइनाले मर्छन्, प्राण छोड्छन् वा छोड्न उद्यत हुन्छन्, ये जाताः= जो शीघ्र प्रकट भएका शैशवावस्थाका पशु-पंक्षी आदिका बच्चा वा अंकुररूप वृक्षादि, च= र ये यज्ञियाः= यज्ञकर्ममा उपयुक्त हुने औषधि, वनस्पति वा अन्नादि छन्, तेभ्यः= ति राम्रो प्रकारले हुनको लागि, घृतस्य:= जलको, व्युन्दती:= शीतलता गुण पुर्याउने,  मधुधारा:= नुनिलो दोष रहित जसको मीठो र स्वादिष्ट गुणकारी जलयुक्त धारा होस् यस्तो, कुल्या:= कृत्रिम बनावटी नदी-नहर, एतु:= प्राप्त होस्, जसबाट जगत्मा सब चराचर प्राणिहरुको रक्षा होस्।

भावार्थ:- जुन-जुन मरु आदि देशमा जल पाइदैन वा निक्कै कष्टका साथ पाइन्छ, ति प्रदेशमा सुगमताले सर्वदोष रहित मीठो जल प्राप्त गर्नको लागि देशहितैषी धनाढ्य वा प्रजापालनमा तत्पर राजपुरुषहरुले नवीन नदी या नहर बनाउनु पर्छ, किनकि जलबाट नै सब चराचरको उत्पत्ति हुनु र स्थिति रहनु सम्भव छ। त्यसैले यो नै सबभन्दा ठूलो धर्मानुकूल कर्म हो। यस प्रकारको ठूलो उपकारी धर्मसम्बन्धी कृत्य यस मन्त्रमा परमेश्वरले उपदेश दिएको छ। त्यसलाई छोडेर अयुक्त निर्मूल अर्थ प्रसिद्ध गर्ने चेष्टा गर्नेलाई विद्वान्हरुले के भन्लान् ?अस्तु..

नमस्ते..!

लेखक: -पण्डित भीमसेन शर्मा

अनुवादक: प्रेम आर्य

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

वेबसाइट हेर्नुहोस्

नयाँ पोष्टहरू

माथि