Uncategorized

ईशोपनिषद पद्यानुवाद

ओ३म् ईशावास्यमिदं सर्वं यत्किंच जगत्यां जगत् ।तेन त्यक्तेन भुंजीथा मा गृधः कस्य स्विद्धनम् ।।१ ।। ईश, सारा जगतमा जे छ ति सबमा रमेर गति गर्दछ ।कण-कणलाई गतिमान बनाएर सकल सृष्टि रचना गर्दछ।।त्याग भावले भोग गर्नु नर, लोभ कत्ति मनमा नआओस्।धन कसको ? सबै ईश्वरको, सदा ध्यानमा यो आओस् ।।१ ।। कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छ्तम् समाः ।एवं […]

ओ३म्

ईशावास्यमिदं सर्वं यत्किंच जगत्यां जगत् ।
तेन त्यक्तेन भुंजीथा मा गृधः कस्य स्विद्धनम् ।।१ ।।

ईश, सारा जगतमा जे छ ति सबमा रमेर गति गर्दछ ।
कण-कणलाई गतिमान बनाएर सकल सृष्टि रचना गर्दछ।।
त्याग भावले भोग गर्नु नर, लोभ कत्ति मनमा नआओस्।
धन कसको ? सबै ईश्वरको, सदा ध्यानमा यो आओस् ।।१ ।।

कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छ्तम् समाः ।
एवं त्वयि नान्यथेतोऽस्ति न कर्म लिप्यते नरे ।।२ ।।

शुभ कर्म गर्दै सय वर्ष सम्म सुखको तिमि भोग गर ।
छैन अन्य कुनै पथ तिम्रो यहि मार्गमा गमन गर ।।
कर्मठ बनेर नै जीवन-यापनको इच्छा सदा बनीरहोस्।
लिप्त कर्म हुँदैनन् नरमा, भोग-भावबाट विरक्ति बनिरहोस्।।२ ।।

असुर्य्या नाम ते लोका अन्धेन तमसाऽऽवृताः ।
तांस्ते प्रेत्याभिगच्छन्ति ये के चात्महनो जनाः ।।३ ।।

पाप कर्ममा परेर जो जन आत्म-हनन नित्य गर्दछन्।
भोगमा लिप्त भएर जो अधम मार्गमा चल्ने गर्दछन्।।
मरेपछि निच योनिमा जाँदै दुःख सागरमा खस्दछन्।
घोर अन्धकारले घेरिएको ति असुर लोकमा पस्दछन्  ।।३ ।।

अनेजदेकं मनसो जवीयो नैनद्देवा आप्नुवन् पूर्वमर्षत् ।
तद्धावतोऽन्यानत्येति तिष्ठत्तस्मिन्नपो मातरिश्वा दधाति ।।४ ।।

एक मात्र स्वामी जगतीको न कहिले ऊ चल्दछ।
चक्षुरादि र न मनले प्राप्त हुन्छ, तीव्र गति ऊ गर्दछ ।।
अचल ब्रह्मको धावन शक्ति भन्दा सबै पछी रहन्छन्।
ब्रह्मशक्तिबाट नै वायुले प्राण र जीवले कर्म धारण गर्दछन्।।४ ।।

तदेजति तन्नैजति तद्दूरे तद्वन्तिके ।
तदन्तरस्य सर्वस्य तदु सर्वस्यास्य बाह्यतः ।।५ ।।

ऊ गतिहीन, उही गतिदाता, रचना गर्दछ र चलाउँदछ ।
अज्ञानी देखि दूर रहन्छ, सदा ज्ञानीको हृदयमा बस्दछ।।
जड-चेतन सबको भित्र व्याप्त एक उसैको आभा हो ।
बाह्य जगतमा चम्कने पनि उसै ब्रह्मको प्रतिभा हो।।५ ।।

यस्तु सर्वाणि भूतान्यात्मन्नेवानुपश्यति ।
सर्व भूतेषुचात्मानं ततो न विजुगुप्सते ।।६ ।।

जसले समस्त चराचर जगतलाई परमात्मा मा देख्दछ।
जसले भौतिक प्राणि मात्रमा आफ्नै आत्मा देख्दछ।।
शांत भाव धारण गरि प्राणि मात्रमा वैर भाव मेट्दछ।
निन्दा छोडेर ऊ प्राणि मात्रमा मित्र भाव देख्दछ ।।६ ।।

यस्मिन् सर्वाणि भूतान्यात्मैवाभूद्विजानतः ।
तत्र को मोहः कः शोकः एकत्वमनुपश्यतः ।।७ ।।

भूत चराचर सबलाई आँफू झैं सम्झन्छ जसले।
एक भावले देख्दछ जड चेतन जगलाई उसले।
उसलाई मोहले कसरि सताउला उसले दुःख कसरि पाउला?
शोक भाव बाट छुटेर मुदित मनले विचरण गर्न पाउला।।७ ।।

स पर्य्यगाच्छुक्रमकायमव्रणमस्नाविरम् शुद्धमपापविद्धम् ।
कविर्मनीषी परिभू: स्वयम्भूर्याथातथ्यतोऽर्थान्
व्यदधाच्छाश्वतीभ्यः समाभ्यः ।।८ ।।

परमात्मा सर्वत्र प्राप्त छ,शुद्ध स्वरुप अकाया छ।
व्रण नसनाडी रहित ईश ऊ शुद्ध स्वरुप सर्वज्ञ छ।।
पाप कर्मले रहित प्रभू नै अखिल भुवनमा छाएको छ।
ऊ कवि ज्ञानी हो जगको अणु अणुमा त्यहि व्याप्त छ ।।

सबको मनको कुरो जान्दछ र मनप्रेरक बन्दछ।
स्वयंभू: बनेर ऊ आफ्नै सत्तामा स्थित रहन्छ।।
अनादि काल देखि निरन्तर उसले जग रचना गर्दैछ।
जगतका सारा पदार्थ उसले याथातथ्य बनाउँदैछ ।।

अन्धन्तमः प्रविशन्ति येऽविद्यामुपासते ।
ततो भूय इव ते तमो य उ विद्यायाम् रताः ।।९ ।।

अज्ञानताको अन्धकारले छाएका ति लोक तुच्छ मानिन्छन्।
केवल अविद्या(कर्म)मा रत रहनेहरु त्यसैमा खस्ने गर्दछन्।।
त्यो भन्दा पनि घोर अन्धकार स्थितिमा ति प्रवेश गर्दछन्।
जसले केवल विद्या((ज्ञान)मा आफ्नो समय बिताउने गर्दछन् ।।

अन्यदेवाहुर्विद्ययाऽन्यदाहुरविद्यया ।
इति शुश्रुम धीराणाम् ये नस्तद्विचचक्षिरे ।।१० ।।

विद्या र अविद्याको फल ऋषिगणले हामीलाई भन्ने गर्दछन्।
यिनको फल पनि भिन्दै छ भनेर उनले नै सम्झाउने गर्दछन्।।
धीर र विद्वानहरुले हामीलाई यहि कुरो सुनाउने गर्दछन्।
कृपाभाव-धारक ऋषिगणले हामीलाई यहि उपदेश गर्दछन्।।

विद्यां चाविद्यां च यस्तद्वेदोभयं सह ।
अविद्यया मृत्युं तीर्त्वा विद्ययामृतमश्नुते
।।।।११ ।।

विद्या(ज्ञान) र अविद्या(कर्म) लाई जसले एक साथ जान्दछ ।
उभय तत्वलाई जसले जीवनमा एकसमान धारण गर्दछ ।।
अविद्या(कर्म) धारण गरेर मृत्यु देखि बच्दै बन्दछ महान ।
विद्या(ज्ञान) द्वारा पाउँछ उसले मोक्ष परमपदको वरदान।।

अन्धन्तमः प्रविशन्ति येऽसम्भूतिमुपासते ।
ततो भूय इव ते तमो य उ सम्भूत्याम् रताः ।।१२।।

अज्ञानताको अन्धकारले छाएका ति लोक तुच्छ मानिन्छन्।
असम्भूति(कारणरुप प्रकृति)मा रत रहनेहरु त्यसैमा खस्ने गर्दछन्।।
त्यो भन्दा पनि घोर अन्धकार स्थितिमा ति प्रवेश गर्दछन्।
जसले केवल सम्भूति(भौतिक पदार्थ)मा आफ्नो समय बिताउने गर्दछन् ।।

अन्यदेवाहु: संभवादन्यदाहुरसंभवात् ।
इति शुश्रुम धीराणाम् ये नस्तद्विचचक्षिरे ।।१३ ।।

असम्भूति र सम्भूति अलग हुन् ऋषिगणले हामीलाई भन्ने गर्दछन्।
यिनको फल पनि भिन्दै छ भनेर उनले नै सम्झाउने गर्दछन्।।
धीर र विद्वानहरुले हामीलाई यहि कुरो सुनाउने गर्दछन्।
कृपाभाव-धारक ऋषिगणले हामीलाई यहि उपदेश गर्दछन्।।

सम्भूतिम् च विनाशं च यस्तद्वेदोभयम् सह ।
विनाशेन मृत्युम् तीर्त्वा सम्भूत्याऽमृतमश्नुते ।।१४।।

विनाश र सम्भूति तत्व लाई जसले एक साथ जान्दछ ।
उभय तत्वलाई जसले जीवनमा एकसमान धारण गर्दछ ।।
विनाश द्वारा मृत्यु देखि बच्दै मानव जीवन बन्दछ महान ।
सम्भूति द्वारा पाउँछ उसले मोक्ष परमपदको वरदान।।

हिरंमयेन पात्रेण सत्यस्यापिहितं मुखं ।
तत्वं पूषन्नपावृणु सत्यधर्माय दृष्टये ।। १५।।

सुनौलो ढक्कनयुक्त लोभमय भौतिक जगत मनुष्यलाई मन पर्दछ ।
यसबाट ढाकिएको छ सत्यको मुख तर मानव भ्रममा पर्दछ ।।
हे पूषन् देव ! तिम्रो कृपाले उक्त स्वर्णिम ढक्कन हटिजावस् ।
सत्य धर्मको दर्शन गर्न सकूँ जीवन पावन बनिजावस्।।

पूषन्नेकर्षे यम सूर्य्य प्राजापत्य व्यूहरश्मीन् समूह ।
तेजोयत्ते रूपं कल्याणतमं तत्ते पश्यामि योऽसावसौ
पुरुषः सोऽहमस्मि ।।१६।।

एक मात्र ऋषिवर यम पूषन् ! सूर्य प्रजापतिलाई नमन गर्दछु।
शमन गर प्रभु स्वर्ण रश्मिहरु, लोक-लोभलाई दमन गर्दछु।।
दर्शन होस् प्रभुको कल्याणमय, तेजोमय, पावन रुपको।
होस् कल्याण मम जीवन बनोस् पावन तिम्रै स्वरूपको।।

वायुरनिलममृतमथेदम् भस्मान्तं शरीरं ।
ओ३म् क्रतो स्मर कृतं स्मर क्रतो स्मर कृतं स्मर ।।१७ ।।

प्राण वायु मिलोस् अनिलमा आत्मा अमर तथा नित्य स्वरुप।
यो भौतिक शरीर जलेर रहन्छ अन्तमा मात्र भस्म स्वरुप।।
क्रतो सुमिर तिमी ओ३म् नित्य नै जीवन शुद्ध पवित्र गर।
हे मनुष्य जीवनमा आँफूले गरिएका कर्मलाई स्मरण गर ।।

अग्ने नय सुपथा राये अस्मान् विश्वानि देव वयुनानि विद्वान् ।
युयोध्यस्मज्जुहुराणमेनो भूयिष्ठांते नम उक्तिम् विधेम ।।१८ ।।

हे प्रकाशका पुञ्ज प्रभो ! तिमी सब कर्मका ज्ञाता हौ।
लैजाउ सुपथमा वैभव देऊ प्रभु कृपा भावका दाता हौ।।
कुटिल तथा पाप कर्मलाई हामी बाट दूर गर भगवन।
हरेक पटक यहि भावले प्रभुवर तिमीलाई गर्दछौं नमन ।।

(रचयिता:श्री चिन्ता मणि वर्मा)

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

वेबसाइट हेर्नुहोस्

नयाँ पोष्टहरू

माथि