ओ३म्..
प्रातः उठे देखि रात्रि विश्राम सम्म आहार – विहारको सामान्य सूत्र:-
१. प्रात: ब्रह्म मुहुर्त (सूर्योदय भन्दा दुई/ढाई घण्टा पहिले) मा बायाँ कोल्टेबाट उठेर केहीबेर शयनकक्षमै बसेर परम-पिता परमात्मा संग शुभदिनको लागि प्रार्थना गरौँ।
२. जुन नाकको प्वालबाट स्वास चलेको छ, बिचार गरि त्यतै तिरको खुट्टा पहिले पृथ्वीमा टेकेर शयनकक्षबाट झरौं।
३. कसैको ओछ्यान मै चिया तथा कफी लिने बानि छ भने यो निक्कै हानिकारक छ। उठ्नासाथ् मुख कुल्ला नगेर, शौच क्रिया भन्दा पूर्वनै जति सकिन्छ ताम्रपात्रको जल एक-एक घुट्की लिएर पिउने।
(स्वच्छ ताम्रपात्रमा राति नै शयन पूर्व जल भरेर राखौं। यसमा एक चिम्टी मेथीदाना तथा ज्वानो मिलाउन सकिन्छ। शीतकालमा यो जल थोरै मनतातो भए उत्तम।)
४. त्यसपछि शौचआदि क्रियाबाट निवृत्त हौँ।
५. बजारमा पाइने अप्राकृतिक तथा सुर्ती जन्य दंतमंजनको प्रयोग कदापि नगरौं। सिधेनुनलाई मसिनो गरि पिसेर त्यसमा अलिकति बेसारको धुलो, थोरै फिटकिरी र तोरीको तेल अथवा कागतीको रस मिलाएर बिचको औंलाले बिस्तारै दाँत र गिजा मल्ने गरौँ अथवा निम, साल, जामुनो, अम्बा, सान्नन, बकाइनो, बबुल आदिको डालाको दतिउन गर्दा धेरै राम्रो हुन्छ। जिब्रो सफा गर्नु छ भने बिचका तीन औंलाको सहायताले गरौँ।
६. मुख धुने समयमा मुख भरि जल भरेर चिसो स्वच्छ जलको छिटा १०/१५ पटक आँखा र कानमा दिने गरौँ।
शौच उपरान्त सदा स्वच्छ ताजा जलले नुहाउने गरौँ। कसैलाई बिहान नुहाउने बानि छैन भने जलले हात, खुट्टा, मुख धोएर पूर्व दिशा तिर फर्किएर सुखासनमा कम्मर र गर्धन सिधा गरेर बसौं। नेत्र बन्द गरौँ। उदय हुँदै गरेको सूर्यको कल्पना गर्दै १०/१५ मिनट सम्म ओ३म् को ध्यान गरौँ र अर्थभावना सहित गायत्री मन्त्रको जप गरौँ।
प्रातः खुला हावामा कम्तिमा १कोस सम्म टहलने गरौँ। योग व्यायाम नित्य गर्ने बानि बसालौं।
७. बिहानको चिया कफीको स्थानमा कागती र मह मनतातो पानीमा मिलाएर लिन सकिन्छ या अर्जुन बोक्राको धुलो अथवा दाल्चिनिको धुलो पकाएर गुड संग लिन पनि सकिन्छ। कब्जका रोगीहरुले सदा पानीमा तुलसीको पात पकाएर पिउने गरौँ।
गहिरो श्वास क्रिया
‘ॐ भूर्भुवः स्वः” श्वास लिने बेला मनमनै बोलौं, ‘तत्सवितुर्वरेण्यं” बोल्दा सम्म श्वास भित्र नै रोकौं, ‘भर्गो देवस्य धीमहि” का साथ श्वास बाहिर फालौं, ‘धियोयोनः प्रचोदयात्” का साथ श्वास बाहिर रोकौं
प्रातः खुला हावामा या तुलसीको नजिक सुखासनमा बसेर कम्तिमा १० मिनट गरौँ। कुनै गम्भीर रोग मा यो क्रिया दुई-तीन पटक सम्म दोहोर्याएर गर्न सकिन्छ।
भोजन गर्दा निम्र प्रक्रिया अपनाउँ :-
- सुखासनमा बसौं।
- भोजन मन्त्र (ओ३म् अन्नपते अन्नस्य नो देह्यनमीवस्य शुष्मिणः । प्र प्र दातारं तारिष ऊर्जं नो धेहि द्विपदे चतुष्पदे ।।) जप गरौँ ।
- जलपात्र साथमा राखौं।
- भोजन नली अत्यधिक सुख्खा छ भने सुरुमा तीन र अन्तमा एक आचमन गर्न सकिन्छ।
- भोजनको हरेक ग्रासलाई ३०-४० पटक चपाएर निल्ने गरौँ।
- शान्त मनले कसैसंग कुरा नगरेर ध्यान दिएर भोजन ग्रहण गरौँ।
- आमासयको एक-तिहाई मात्र भोजन गरौँ।
- भोजन गर्दा या तत्काल पछी पानी नपिउँ (भोजन गरेको एक-डेढ घण्टा पछी मात्र पानी पिउनु पर्छ)। पानी पिउने तरिका: सुखासनमा बसेर एक एक घुट्की मुखमा दायाँ-बायाँ, तल-माथि, चारैतिर खेलाएर मात्र बिस्तारै-बिस्तारै पिउने। उठेर, ठाडो घाँटी लाएर, घटाघट, छिटोछिटो गरि कहिल्यै नपिउने। कुर्सीमा बसेर पिउनु पर्ने छ भने कुर्सीमै सुखासन जमाएर मात्र पिउने।खाना पनि जमिनमा बसेर खाने, कुर्सीमा (डाइनिंग टेबलमा) बसेर कदापि नखाने।
(अपवाद: भोजन पूर्व अधिक प्यास लागेको स्थितिमा आधा घण्टा पूर्व पानी पिउन सकिन्छ। यदि सबै खाद्य पदार्थ रूखा सूखा छन् भने अथवा भोजन नलीमा भोजन अड्किएर फट्को लाग्यो भने भोजनको मध्यमा २- ३ घुट्की पानी अवश्य पिउन सकिन्छ। दुई अन्नको भोजन एक साथ् लिनु पर्ने अवश्थामा एउटा अन्न खाइ सकेपछी र अर्को सुरु गर्नु भन्दा अघि बिचमा दुई घुट्की पानि पिउँदा उत्तम हुन्छ।) - भोजन पछी १२ पटक कुल्ला गरौँ।
- फ्रिज तथा फेफ्रिजरेटरमा भण्डारण गरिएका कुनै पनि खाध्य तथा पेय पदार्थहरु खानु भनेको काललाई निम्त्याउनु सरह हो.. ।
- दिनमा एक-डेढ घन्टाको फरकमा एक-एक गिलास पानी अवश्य पिउने गरौँ। (आफ्नो शरीरको वजनलाई २० ले भाग गरौँ, जति आउँछ त्यति लिटर पानी पुरै दिन भरि पिउने गर्नु पर्छ)
- साँझको भोजन सुपाच्य (कुनै पनि प्रकारको प्रोटिन नभएको) र हल्का गरौँ।
- साँझको भोजन पछी १० मिनेट बज्रासनमा बस्ने गरौँ र कम्तिमा ५०० देखि १००० कदम सम्म टहल्ने गर्नु पर्छ।
- साँझको भोजन सकभर सूर्यास्त भन्दा पहिलेनै गरौँ, सकिन्न भने ८ बजे भित्र अवस्य गरौँ, त्यो पनि सकिन्न भने ८ बजे पछी भोजन नगरौं।
- राति १० देखि १०:३० बजे सम्म अवस्य सुत्ने गरौँ।
- सुत्नेबेला सधैं एक गिलास तातो गोदुग्ध या तातो पानीमा एकचिम्टी बेसार फिटेर सेवन गर्ने गरौँ।
- सुत्दा सिर पुर्व दिशा या दक्षिण राखेर मात्र सुत्ने गरौँ।
- सुत्नु पूर्व दाँत सफा गरौँ, तातो पानीले खुट्टा धोएर सफा तौलियाले पुछेर पैतालामा तोरीको तेल मालिश गर्ने गरौँ.. ।
- दिनमा जानी नजानी जुन गल्तिहरु भए, तिनलाई स्मरण गरेर पुनरावृत्ति नगर्ने संकल्पका साथ् ईश्वरको निज नाम ओ३म् तथा गायत्रीको अर्थभावना सहित जप र ध्यान गर्दै दाहिने कोल्टे पर्दै शयन गरौँ। अस्तु..
स्वस्थ रहौं, सुखी रहौं..!
जय प्रकृति..!
जय स्वाभिमान..!